Luke 6

1अब विश्रामको दिनमा यस्तो भयो कि येशू चेलाहरूसँग अन्‍नको खेतको बाटो भएर जाँदै गर्नुहुँदा तिनीहरूले हातले अन्‍नका बाला टिप्दै र तिनीहरूका हातमा माडिरहेका र अन्‍न खाइरहेका थिए । 2तर केही फरिसीहरूले भने, “किन तिमीहरूले विश्रामको दिनमा व्यवस्थाअनुसार गर्न नहुने काम गरिरहेका छौ ?”

3येशूले तिनीहरूलाई जवाफ दिँदै भन्‍नुभयो, “दाऊद र तिनीसँग भएका मानिसहरू भोकाएका बेला दाऊदले के गरे भनी तिमीहरूले पढेका छैनौ ? 4तिनी परमेश्‍वरको भवनभित्र पसेर पूजारीहरूले बाहेक अरूले खान निषेध गरिएको परमेश्‍वरको उपस्थितिको रोटीबाट आफूले केही खाए र केही आफूसँग भएका मानिसहरूलाई पनि दिए ।” 5तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मानिसका पुत्र विश्राम दिनको पनि प्रभु हो ।”

6अर्को विश्राममा यसो भयो कि उहाँ सभाघरमा जानुभयो र त्यहाँ भएका मानिसहरूलाई सिकाउनुभयो । त्यहाँ दाहिने हात सुकेको एक जना मानिस थियो । 7उहाँले विश्रामको दिनमा कसैलाई निको पार्नुहुन्छ कि हुन्‍न भनेर शास्‍त्रीहरू र फरिसीहरूले नजिकबाट उहाँलाई नियाली राखेका थिए ताकि तिनीहरूले उहाँलाई केही गल्ती गरेको कारण दोष भेट्टाउन सकियोस् । 8तर तिनीहरूले के सोचिरहेका थिए भनी उहाँलाई थाहा थियो, र हात सुकेको मानिसलाई भन्‍नुभयो, “उठ र सबैका बिचमा खडा होऊ ।” त्यसकारण, त्यो मानिस उठ्यो र त्यहाँ सबैका बिचमा उभियो ।

9येशूले तिनीहरूलाई भन्‍नुभयो, “म तिमीहरूलाई सोध्छु, विश्रामको दिनमा कसैको असल गर्नु वा हानि गर्नु, जीवन बचाउनु वा नाश गर्नु कुन ठिक हो ?” 10तब उहाँले तिनीहरूका वरिपरि हेर्नुभयो र त्यस मानिसलाई भन्‍नुभयो, “तेरो हात पसार् ।” उसले त्यसै गर्‍यो र उसको हात पहिलाको जस्तै भयो । 11तर तिनीहरू रिसले चूर भए र येशूको बारेमा के गर्न सकिन्छ भनी एक अर्कामा कुराकानी गरे ।

12उहाँ डाँडामा प्रार्थना गर्न जानुभएको बेला ती दिनहरूमा यसो भएको हो । उहाँले परमेश्‍वरसँग रातभर निरन्तर प्रार्थनामा बिताउनुभयो । 13जब उज्यालो भइसकेको थियो । उहाँले चेलाहरूलाई आफूकहाँ बोलाउनुभयो र तिनीहरूमध्येबाट बाह्र जनालाई चुन्‍नुभयो जसलाई “प्रेरित” नाउँ दिनुभयो ।

14पप्रेरितहरूका नाउँहरू थिएः सिमोन (जसलाई उहाँले पत्रुस भनी नाउँ दिनुभयो) र उनका भाइ अन्द्रियास, याकूब, यूहन्‍ना, फिलिप, बारथोलोमाइ, 15मत्ती, थोमा, अल्फयासका छोरा याकूब, सिमोन जसलाई विद्रोही भनिन्थ्यो, 16याकूबका छोरा यहूदा, र यहूदा इस्करियोत, जो एक धोकेबाज हुन पुग्यो ।

17त्यसपछि येशू तिनीहरूसँगै डाँडाबाट तल ओर्लनुभयो र समथर ठाउँमा उभिनुभयो । त्यहाँ उहाँका चेलाहरूको ठुलो भिड थियो र त्यसै गरी ठुलो सङ्ख्यामा यहूदिया, र यरूशलेम, र सिदोन, टुरोसको समुद्री तटका बासिन्दाहरू पनि थिए । 18तिनीहरू उहाँका वचन सुन्‍न र आ-आफ्ना रोगहरूबाट निको हुनलाई आएका थिए । अशुद्ध आत्माले सताइएका मानिसहरू पनि निको भए । 19भभिडमा भएका सबैले उहाँलाई छुन खोजे, किनभने निको पार्ने शक्‍ति उहाँबाट गइहेको थियो र उहाँले सबैलाई निको पार्नुभयो ।

20उहाँले चेलाहरूतर्फ हेर्नुभयो र भन्‍नुभयो, “धन्य तिमीहरू जो दीन छौ, परमेश्‍वरको राज्य तिमीहरूकै हो । 21धन्य तिमीहरू जो अहिले भोकाउँदछौ, तिमीहरू तृप्‍त हुनेछौ । धन्य तिमीहरू जो अहिले रुन्छौ, तिमीहरू हाँस्‍नेछौ ।

22जब मानिसका पुत्रका खातिर बहिष्कार गरी साथीहरूबाट अलग गरेर तिमीहरूलाई निकाल्दछन् र दुष्‍ट ठानी तिमीहरूका नाउँलाई अपमान गर्दछन् । धन्य हौ तिमीहरू जब मानिसहरूले तिमीहरूलाई घृणा गर्दछन् । 23त्यसदिन तिमीहरू रमाओ र आनन्दले उफ्र, किनकि निश्‍चय नै स्वर्गमा तिमीहरूका लागि ठुलो इनाम हुनेछ । किनकि तिनीहरूका पुर्खाहरूले पनि अगमवक्‍ताहरूलाई त्यसै गरेका थिए ।

24तर धिक्‍कार तिमीहरू जो धनी छौ ! तिमीहरूले आफ्ना सान्त्वना पाइसकेका छौ । 25धिक्‍कार तिमीहरूलाई जो आहिले तृप्‍त छौ ! तिमीहरू पछि भोकाउनेछौ । धिक्‍कार तिमीहरू जो अहिले हाँस्‍छौ ! तिमीहरू पछि रुनेछौ र विलाप गर्नेछौ ।

26धिक्‍कार तिमीहरू मानिसहरूबाट प्रशंसा पाउनेहरू ! तिम्रा पुर्खाहरूले झुटा अगमवक्‍ताहरूलाई पनि त्यसै गरेका थिए ।

27तर म तिमीहरूलाई भन्दछु जसले सुनिरहेका छौ, तिम्रा शत्रुहरूलाई प्रेम गर र तिमीहरूलाई घृणा गर्नेहरूको भलाइ गर । 28तिमीहरूलाई सराप्‍नेहरूलाई आशिष्‌‌ देऊ र तिमीहरूलाई दुर्व्यवहार गर्नेहरूका निम्ति प्रार्थना गर ।

29तिम्रो एउटा गालामा हिर्काउनेलाई अर्को पनि थापिदेऊ । यदि कसैले तिम्रो कोट खोस्‍छ भने उसलाई दौरा पनि दिइहाल । 30तिमीसँग माग्‍ने सबैलाई देऊ । यदि कसैले तिम्रो केही कुरा लगेमा त्यससँग फिर्ता नमाग ।

31मानिसहरूले तिमीलाई जसो गरेको चाहन्छौ, तिमीले पनि तिनीहरूलाई त्यस्तै गर्नुपर्छ । 32तिमीलाई प्रेम गर्नेहरूलाई मात्र प्रेम गर्छौ भने के लाभ भयो र ? किनकि पापीहरूले पनि तिनीहरूलाई प्रेम गर्नेहरूलाई मात्र प्रेम गर्छन् । 33यदि तिमीहरूलाई असल गर्नेलाई मात्र असल गर्छौ भने के लाभ भयो र ? पापीहरूले पनि त त्यसै गर्छन् । 34यदि तिमीले तिनीहरूले फिर्ता गर्न सक्छन् भन्‍ने आशामा मात्र ऋण दिन्छौ भने तिमीलाई के लाभ भयो र ? पापीहरूले पनि पापीहरूलाई ऋण दिन्छन् र उत्तिकै मात्रामा फिर्ता पाउने आशा राख्दछन् ।

35तर तिम्रा शत्रुहरूलाई प्रेम गर र तिनीहरूको भलाइ गर । पैँचो माग्‍नेहरूलाई केही पनि फिर्ता पाउने आशा नगरीकन देऊ ताकि तिम्रो इनाम ठुलो हुनेछ । तिमी सर्वोच्‍चका छोराहरू हुनेछौ, किनकि उहाँ आफैँ अधन्यवादी र खराब मानिसहरूप्रति कृपालु हुनुहुन्छ । 36तिम्रा पिता कृपालु हुनुभएझैँ तिमी पनि कृपालु होऊ ।

37कसैको न्याय नगर र तिम्रो न्याय गरिनेछैन । दोष नलगाऊ र तिमी दोषी ठहरिनेछैनौ; अरूलाई क्षमा देऊ र तिमीलाई पनि क्षमा गरिनेछ ।

38अरूहरूलाई देऊ र तिमीहरूलाई पनि दिइनेछ । प्रशस्त परिमाणमा खाँदी-खाँदी, हल्लाई-हल्लाई पोखिने गरी, तिनीहरूले तिमीहरूका पोल्टामा खन्याउनेछन् । जुन नापले तिमीहरू नाप्‍तछौ, त्यहीँ नापले तिमीहरू पनि नापिनेछौ ।”

39त्यसपछि उहाँले तिनीहरूलाई एउटा दृष्‍टान्त पनि भन्‍नुभयो, “के एक जना अन्धा मानिसले अर्को अन्धा मानिसलाई डोर्‍याउन सक्छ ? त्यसो गरे दुवै जना खाल्डोमा पर्दैनन् र ? 40एउटा चेला आफ्नो गुरुभन्दा महान् हुन सक्दैन । तर हेरक जसले तालिम प्राप्‍त गर्छ, तब ऊ आफ्नो गुरुजस्तै हुनेछ ।

41तिमीले तिम्रो भाइको आँखामा मात्र किन सानो कसिङ्गर देख्‍तछौ तर आफ्नै आँखामा भएको मुढाचाहिँ किन देख्दैनौ ? 42कसरी तिमीले आफ्नो भाइलाई भन्‍न सक्छौ, भाइ मलाई तिम्रा आँखामा भएको कसिङ्गर निकाल्न देऊ जब कि तिमीले आफ्नै आँखामा भएको मुढा देख्दैनौ ? हे पाखण्डी हो ! पहिले तिम्रा आँखाबाट मुढा निकाल तब तिमीले तिम्रो भाइको आँखामा भएको कसिङ्गर निकाल्न स्पष्‍टसँग देख्‍नेछौ ।

43किनकि कुनै असल रुखले कुहिएको फल फलाउँदैन, न त कुहिएको रुखले असल फल फलाउन सक्छ । 44किनभने प्रत्येक रुख त्यसको फलले नै चिनिन्छ । किनकि काँडाको रुखबाट कसैले अञ्‍जीर बटुल्न सक्दैन, न त काँडे झाडीबाट अङ्गुर बटुल्न सक्छ ।

45असल मान्छेले आफ्नो हृदयको भण्डारबाट असल कुरा निकाल्छ र खराब मान्छेले आफ्नो हृदयको भण्डारबाट खराब कुरा नै निकाल्दछ । किनकि उसले आफ्नो हृदयको प्रशस्तबाट त्यही बोल्दछ र जे भण्डार गरी राखेको छ, त्यहीँ निकाल्छ ।

46तिमीहरू मलाई किन “प्रभु, प्रभु” भन्दछौ, जब कि मैले भनेका कुराहरूचाहिँ तिमीहरूले पालना गर्दैनौ ? 47हरेक व्यक्‍ति जो मकहाँ आउँछ र मेरा वचन सुन्छ र पालन गर्छ, म तिमीहरूलाई भन्दछु, ऊ कस्तो मानिस हो । 48ऊ एक जना घर बनाउने मानिसजस्तो हो, जसले जमिन गहिरो गरी खन्यो र घरको जग बलियो चट्टानमाथि बसाल्यो । जब जलप्रवाह भयो, तब बाढी उर्ली आएर त्यस घरलाई प्रहार गर्‍यो, तर त्यसलाई हल्लाउन सकेन, किनभने त्यो राम्ररी बनाइएको थियो ।

तर एक जना मानिस जसले मेरा वचनहरू सुन्छ र पालन गर्दैन्, त्यो मानिस जमिनमाथि विनाजग घर बनाउने मानिसजस्तो हो । जब जलप्रवाह उर्ली आयो र त्यस घरलाई प्रहार गर्‍यो तब त्यो घर तुरुन्तै ढली हाल्यो र त्यस घरको पुरै विनाश भयो ।

49

Copyright information for NepULB